वालिङ, १७ वैशाख ।
भीरकोट नगरपालिका पूर्णखोप सुनिश्चित घोषणा भएको छ । नगरका ९ वटै वडा अन्तर्गत रहेका १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाले १५ महिनाभित्रमा सबै राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खोपहरु पाईसकेको सुनिश्चितता सहित पालिकालाई पूर्ण खोप सुनिश्चितता घोषित भएको हो । पालिकालाई पूर्ण खोप सनिश्चितता घोषणा गर्दै जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटीले भीरकोटले सकारात्मक कार्यहरु गर्दै आईरहेको भन्दै बालमैत्री नगर भीरकोट पूर्ण खोप सुनिश्चितता समेत घोषणा भएको र आगामी दिनमा समेत नागरिकको हितमा काम गर्न सुझाव दिनुभयो ।
आजका बालबालिका भोलिका नगरका सक्षम नागरिक हुने भएकाले बालबालिकालाई स्वस्थ राखी समृद्ध नगर निर्माणकालागि सहयोग पुग्ने समन्वय प्रमुख जिटीको भनाई थियो । स्थानीय सरकार नागरिकको नजिकको सरकार भएकाले नागरिकका हरेक स–साना कार्यहरुलाई पूरा गर्दै नागरिकमैत्री कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ निरीक्षक विष्णुप्रसाद सुवेदीले पूर्ण खोपकालागि आवश्यक सूचकहरु पूरा गरी भीरकोट पूर्ण खोप सुनिश्चितता घोषणा भएको बताउनुभयो ।
नगर प्रमुख गोविन्दकुमार कर्माचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहजीकरण स्वास्थ्य शाखा प्रमुख नारायणबन्धु कोईरालाले गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य केन्द्रका प्रतिनिधि तथा कर्मचारीलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा ५२ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचयपत्र, डायरी, झोला वितरण गरिएको थियो । आगामी दिनमा कुनै पनि अवस्था र परिस्थितिमा कुनै बालबालिकाहरुलाई कुनै पनि खोप लिनबाट वञ्चित हुन नदिनकालागि पालिका खोप समन्वय समिति, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविकाहरु, सञ्चारकर्मीहरु, स्वास्थ्यकर्मीहरु, आमा समूह, अन्य कर्मचारी र पालिकाबासीले प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।






