वालिङ, १० असार ।
“बसौं बसौं लाग्ने गाँउ र सहर, समुन्नत र समृद्ध गल्याङ नगर” भन्ने मुल नाराका साथ गल्याङ नगरपालिकाको १३ औं नगर सभा गल्याङ नगरपालिकाको सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख गुरुप्रसाद भट्टराईले आगामी आर्थिक बर्ष युवा रोजगारीका लागि पर्यटन र उद्यमशिलता संगै उत्पादनको वर्ष हुने, सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरु मध्येबाट विभिन्न विधामा प्रत्येक बर्ष १ जनालाई नगरस्तरी सुशासन पत्रकारिता पुरस्कार दिइने, गल्याङ नगरपालिका वडा नं ५ जोगिमारा, स्यालबास, ताम्केकोट सडकलाई पूर्व वडाध्यक्ष स्वर्गीय विष्णु क्षेत्री मार्गको रुपमा नामाकरण गरी निर्माण गरिने, वडा ११ र ३ मुडकिल्लामा नगरस्तरीय अत्याधुनिक सुविधा सहितको बसपार्क निर्माण प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।
उहाँले वडा नं.९ जामुने र रम्भा १ साठी पाल्पा जोड्ने कालीगण्डकीमा झोलुङ्गे पुल, गल्याङ – ११ बुढाथोकिडाँडादेखि गल्याङ –७ सेनापुक सम्म झोलुङ्गे पुल र आमिलाथुमदेखि गेझा टेक्रे वडा कार्यालय जोड्ने झोलुङ्गे पुल निर्माण गरिने बताउनुभयो । नगर क्षेत्रभित्र एकीकृत नमुना बस्तीको विकाससँंगै बस्ती व्यवस्थापनलाई गुरुयोजनामार्फत व्यवस्थित गरिने बताउनुभयो ।
निश्चित सूचकका आधारमा नगरभित्रका आधारभूत तह र माध्यमिक तह सञ्चालित १÷१ वटा विद्यालयहरुलाई नगर नमूना विद्यालयकारुपमा विकास गरिने, एक विद्यालय एक योग गुरु बनाउन योगा प्रशिक्षक प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिने, नगरका सबै स्वास्थ्य संस्थामा सुरक्षित मातृत्व तथा सुरक्षित शिशु जन्मका लागि वर्थिङ्ग सेन्टरको निर्माण गरी गुणस्तरीय सेवा प्रवाह गर्ने, लक्षित समूहलाई सिप विकास तथा प्रविधि हस्तान्तरणमार्फत एक घर एक सिप विकास गरी रोजगारी प्रवद्र्धन गर्नुकासाथै गल्याङका महिला उद्यमीका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

उज्यालो गल्याङ नगर कार्यक्रम अन्तर्गत नगर क्षेत्र भित्रका सडकहरुमा आवश्यक संख्यामा सडक वत्ती जडान गर्ने, हरेक घरले सार्वजनिक प्रयोगकालागि बाटोतर्पm बत्ती बाल्न प्रोत्साहित गरिने, आधुनिक र प्रविधिमैत्री कृषि ब्यवसायको विकास गर्दै नगरपालिकाले अवलम्बन गरेको उत्पादन बर्ष २०८० कार्यक्रम समेत सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
युवाहरुको वैदेशिक रोजगारीमा जाने बढ्दो प्रवृत्तिलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रवद्र्धन र बजारीकरणलाई प्रोत्साहन गरिने, यसको सुरुवात स्वरुप नगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुको पहिचान गरी नेपाली वस्तुहरुको बजार सञ्चालनमा ल्याइने बताउनुभयो ।
विभिन्न स्थानहरुमा वाईफाई फ्री चौतारी र खुल्ला ब्यायामशाला निर्माण गरिने आगामी ४ वर्ष भित्र वडाका केन्द्रलाई कालोपत्रे सडकले जोड्ने गरी कार्यक्रम कार्यान्वयनका लागि संघ र प्रदेशसँंग सहकार्य गर्ने, नगरपालिका भित्रका बस्तीहरुको टोलका घरहरुको घर नम्बर समेत निर्धारण गरी तथ्याङ्कीय रुपमा राखिने र सोही अनुसार कार्यक्रम बनाइने, प्रत्येक वडाका टोलटोलमा जनतासँंग मेयर कार्यक्रम सञ्चालन गरी हरेक क्षेत्रको सुझाव अपेक्षा संकलन र कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।
अनुदानमा प्रति लिटर दूधमा रु. १५ कार्यक्रम निरन्तता, बाख्रा मासुको उत्पादनमा हालको भन्दा दोब्बर वृद्धि गर्ने, दूधबाट खुवा÷छुर्पी लगायत विविधिकरण गर्ने, निर्यातमुखी बनाउन जोड दिने, पशु बीमा, ब्याज अनुदान कार्य निरन्तरता दिने, नगरपालिका पशुपंछीमा पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने, हालको दूध उत्पादन दोब्बर वृद्धि गर्ने, माछा पालनमा पकेट क्षेत्र घोषणा गरी उत्पादनमा लाग्ने, उन्नत र पोषिलो घाँस उत्पादन गरी उत्पादन लागत घटाउने, पशुपंछीकालागि आधारभूत प्रयोगशाला स्थापना गर्ने, प्रत्येक वार्डमा पशु÷कृषि प्राविधिक ब्यवस्थापन गर्ने, प्रत्येक वार्डमा पशु स्वास्थ्य शिविर सन्चालन गर्ने, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुले गरेको पशुपालन व्यवसायमा प्रोत्साहन गर्दै नयाँ ब्यवसाय खोल्न सहयोग गर्ने, गाई÷भैंसी÷बंगुर पकेट क्षेत्र स्थापन्ना गरिने उहाँले बताउनुभयो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०÷०८१को बजेट गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपानेले प्रस्तुत गर्दै जलविद्युत रोयल्टी संघबाट रु ५ करोड, स्थानीय राजस्व बाँडफांँडबाट रु ५० लाख, संघीय सरकारबाट समानीकरण अनुदान रु १२. करोड २८ लाख, गण्डकी प्रदेश सरकार समानीकरण अनुदानबाट रु १ करोड ६९ लाख ७२ हजार, सशर्त अनुदान (चालु) संघीय सरकारबाट रु ३५ करोड ३२ लाख, सशर्त अनुदान (पूँजीगत) संघीय सरकारबाट रु.२ करोड ७५ लाख, समपूरक अनुदान संघबाट रु. १ करोड, विशेष अनुदान संघबाट रु. १ करोड ५० लाख, सशर्त अनुदान प्रदेश सरकार रु. ५० लाख, समपूरक अनुदान प्रदेशबाट रु. १ करोड, विशेष अनुदान प्रदेशबाट रु. ५० लाख गरी जम्मा रु. ८१ करोड ४४ लाख हुने अनुमान गर्नु भएको थियो ।







